Saturday, February 23, 2013

अबको स्ववियु निर्वाचन प्रणाली नयाँ कि पुरानो ?




२०३६ सालमा स्ववियु निर्वाचन नियमावली बने देखियता धेरै पटक स्ववियुको निर्वाचनहरु सम्पन्न भैसकेका छन् । पछिल्लो पटक स्ववियु निवार्चनको आयोजना गर्न सबै विद्यार्थी संगठनहरु कुनै न कुनै रुपमा दबाब दिइरहेका छन । विगतमा अन्य कुनै उल्यख्य राजनैतिक घटनाक्रम भएनन् भने त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गर्ने र विद्यार्थी संगठनहरु र आम विद्यार्थीहरु त्यसमा सहभागि भएर गौरवपूर्वक सम्पन्न गर्ने गर्थे । तर विगत केही बर्ष देखि यो सजिलो प्रक्रिया अलि गम्भिर रुपमा नै विथोलिदै गएको छ । खास गरेर स्ववियुका २०४६ साल पछिका पछिल्ला गतिविधि र त्यसको निर्वाचन पूर्वको गतिविधिहरुले स्ववियु र त्यसको निर्वाचनका बारेमा गम्भिर प्रश्नहरु खडा गरेको छ । ति प्रश्नहरुलाई लत्याएर अगाडि जानै नसकिने गरी सबालहरु उठे पछि पछिल्लो पटक -हाल) स्ववियु निर्वाचनको तिथि मिति तोक्ने र सरासर सहभागी बन्ने प्रक्रिया जटिल हुनगएको हो ।

नेपालको गौरवपूर्ण विद्यार्थी आन्दोलनको धेरै महत्वपूर्ण राजनैतिक हकको रुपमा स्थापित स्ववियुको स्थापनाका लागि इतिहाासमा ठूलै मूल्य चुक्ता गरिएको छ । निर्दलिय पञ्चायति निरंकुशता थोपरिए पछि फरक आस्था माथि लगाइएको प्रतिबन्धमा समेत विद्यार्थीहरु यो राजनैतिक हकका लागि निरन्तर आन्दोलनरत रहे । अन्तत निर्दलिय पंञ्चायती ब्यवस्था विद्यार्थी आन्दोलन सामु घुाडा टेक्न वाध्य भयो  र स्ववियुलाई बैधानिक स्वरुप प्रदान गर्‍यो । विद्यार्थी समुदायको हक, हित, अधिकार र इज्जतका लागि संघर्ष गर्ने वैधानिक र साझा मञ्चको रुपमा यसलाई पञ्चायति ब्यवस्थाभरि नै युवा विद्यार्थीहरुले उपयोग गरे । स्ववियु आम विद्यार्थी र जनहितका सवालहरुमा आवाज बुलन्द गर्ने साझा र वैधानिक संस्था भएकै कारण भसलाई विद्यार्थीहरुले धेरै महत्व दिने र यसबाट आम हितका कामको अपेक्षा गर्ने हुदै आएको थियो र आज पनि छ ।

पञ्चायति ब्यवस्थाको पतन संगै नेपालमा बहुदलिय संसदिय ब्यवस्था पुनर्सथापना भयो । यो राजनैतिक परिवर्तन संगै भुमिगत भएका राजनैतिक दलहरु खुला भए । आफ्ना राजनैतिक गतिविधि खुलेआम हुने वातावरण संगै तत्कालिन प्रमुख राजनैतिक दलहरु कंग्रेस र एमाले पार्टी विचमा सत्ता र कुर्शीका लागि आपसी प्रतिस्पर्धा पनि घनिभुत भयो । यो प्रतिस्पर्धाले पार्टीका भातृ संगठनहरुको रुपमा विध्यमान प्रमुख विद्यार्थी संगठनहरु वीचमा पनि विगतको एकता र सहकार्य पनि आपसी प्रतिस्पर्धामा बदलियो । स्ववियु जस्ता साझा र बैधानिक संस्थाहरुलाई  साझा हितमा संचालन गर्ने भन्दा पनि राजनैतिक पार्टीको स्वार्थको रक्षा गर्ने तथा विरोधी राजनैतिक सक्ति विरुद्ध हावी हुने कामका लागि प्रयोगमा ल्याउने काम संसदवादी दल खास गरेर कंग्रेसको भातृ संगठन ने वि संघ र एमालेको भातृ संगठन अनेरास्ववियुले प्रमुख रुपमा गरे ।

राजनैतिक सत्ताको लडाईामा सबै मुल्य मान्यता र नैतिकता समेतलाई गुमाएर एक अर्का विरुद्ध विगतका प्रतिगामी पञ्चायति भुतहरुलाई काँधमा बोकेर कंग्रेस र एमालेहरु हिंडन थाले । यसले गर्दा मुख्य प्रतिस्पधी संगठनहरु तत्कालीन स्थितिमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघका लागि स्ववियु निर्वाचन जसरी पनि जित नै पर्ने राजनैतिक प्रतिष्ठाको विषय बनाइयो । यसका लागि ठुल्ठुलो आर्थिक कारोवार देखि गैर विद्यार्थीहरु समेत निर्वाचनका लागि भर्ना हुने र गर्ने काम भए । अध्यायन सकिसकेकाहरु समेत राजनैतिक उद्येश्यका लागि शैक्षिक संस्था नछाडने र वर्षौं सम्म त्यही बसिरहने गरियो । भोटका लागि छात्रवासमा छात्र-छात्राहरु राजनैतिक आस्थाका अधारमा भर्ने र यसरी कब्जा गरिएका छात्रवासहरु नछाडने कामहरु भए र तिनलाई खास संगठनका हितमा प्रयोग गर्ने समेत गरिए । प्रशासन समेतलाई यो वा त्यो रुपमा विभिन्न राजनैतिक आस्थाको लागि योजनाबद्ध रुपमा प्रयोग गर्ने कामहरु संस्थागत तरिका बाट नै गरियो । राजनैतिक आस्थाको आधारमा कलेजहरुमा प्रशासनिक नियुक्तिहरु गरिए । विरोधी या प्रतिस्पर्धी संगठनहरु विरुद्धमा राजनैतिक र सांगठनिक रुपमा नै निशेधात्मक अवस्थाहरु पैदा भए । यस्ले विद्यार्थी संगठनहरु विचमा भौतिक भिडन्त र काटमारका अवस्थाहरु पैदा भए । त्यसकालागि आवारा र गुण्डाहरुलाई किनेर र राजनैतिक संरक्षण दिएर एकले अर्काको विरुद्धमा प्रयोग गर्ने काम गरियो । तिनका लागि भाला, खुकरी र तरवार लगायतका हात हतियारको ब्यवस्थापन र भण्डारन गर्ने काममा स्ववियुका पदाधिकारी, संगठनका नेता तथा कार्यकर्ताहरु बाट र स्ववियु कार्यालय, कलेज र त्यस वरिपरिका प्रभाब क्षेत्रलाई प्रयोग गरियो । भोज भतेर र जांड पार्टीहरुको आयोजना र ब्यवस्था गर्ने जस्तो काम समेत पवित्र स्ववियुको निर्वाचन जित्नका लागि गरियो र हुदै आएका छन ।

०४६ साल पछाडि यसरी सम्पन्न भएका स्ववियु निर्वाचनका विजेताहरुले आफ्ना असली चरित्रहरु समेत देखाए । ठूलो लागानी र नैतिक अनैतिक प्रयत्नबाट निर्वाचित हुनेले कलेजबाट त्याहाको आर्थिक गतिविधिबाट आफ्नो लगानि उठाउने र कमाउने गर्न थाले र आफ्ना कर्तव्यबाट च्युत भए । उनिहरुले कलेजबाट गरिव, जेहेन्दार तथा पिछडीएका समुदायका विद्यार्थीहरुका लागि प्राप्त हुने सेवा सुविधा र अवसरहरु माथि नियन्त्रण गर्न थाले । बाहुवलका आधारमा कलेज प्रशासनलाई आफ्नो प्रभावमा पार्न थाले । एक पटक जिते पछि संधैभरि स्ववियु निर्वाचनका परिणमहरुलाई आफ्नो पक्षमा पार्न र प्रतिस्पर्धी संगठनहरु माथि दमन र भौतिक आक्रमणहरु गर्ने काम गरिए । जस्का कारण कतिपय कलेजहरुमा निश्चित कलेजहरुमा अन्य विद्यार्थी संगठनले टाउको उठाउन समेत कठिन बनेको छ । त्यो आज पनि कयौं कलेजमा जस्ताको तस्तै कायम छ । अन्य संगठनका गतिविधिलाई स्ववियु मार्फत सिमित गरिएका प्रसस्तै उदाहरणहरु हाम्रा अगाडि छन ।

अखिल (क्रान्तिकारी)लाई राज्यले विगतमा गतिविधि गर्न प्रतिबन्द लगाएको अवस्था र त्यस पछि पछिल्लो शान्ति सम्झौता पछि सम्म पनि कलेजहरुको वातावरण स्ववियु जित्ने संगठनको एकछत्र नियन्त्रणमा नै रहेको पाइयो । कयौं कलेजहरुमा संगठनले उपस्थिति जनाउन भौतिक आक्रमणको प्रतिरोध नै गर्नु पर्ने अवस्था पैदा भयो र आज पनि यस्तो अवस्था बिध्यमान छ । पछिल्लो पटक खास गरि हाम्रो संगठनको शसक्त प्रवेस पुर्व प्राय निश्चित कलेजको स्ववियु निर्वाचन अनेरास्ववियुले मात्र र निश्चित कलेजहरुका ने वि संघले मात्र बारम्बार जितिरहने जस्तो वातावरण बनेको थियो । पछिल्लो पटकको स्ववियु निर्वाचनमा समेत प्रशासन समेतको सम्लगनतामा कयौं क्याम्पसमा प्रशासन अनुकुल राजनैतिक संगठनलाई जिताउने कामहरु भए । असाध्यै बदनाम हुदा समेत आज पनि धेरै स्थानमा त्यस्तो भैरहेको नै छ । यो प्रतिस्पर्धी संगठन विरुद्धमा गरिएको राजनैतिक तथा भौतिक दमनकै परिणाम हो ।

यि तथ्यहरुबाट यो भन्न सकिन्छ कि आज स्ववियु विद्यार्थी हक र अधिकारका लागि लडने साझा र वैधानिक संस्था होइन यो

1.  भ्रष्टहरुको अखडा बनेको छ ।
2.  विरोधि या प्रतिस्पर्धी संगठनहरु र विचारलाई दमन गर्ने संस्था संस्था बनेको छ ।
3.  क्याम्पसहरुलाई बाहुवलको आधारमा नियन्त्रण गर्ने र राजनैतिक तथा ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने साधन बनेको छ ।
4.  भौतिक भिडन्तको लागि हतियारको भण्डारण गर्ने सुरक्षित अखडा बनेको छ ।
5.  गुण्डा र आवराहरुलाई राजनैतिक संरक्षण र आवरण दिने संस्था बनेको छ ।
6.  राज्यले लक्षित वर्ग र समुदायलाई शिक्षामा दिएको सेवा तथा सुविधाहरु खोसेर खाने र राजनैतिक र ब्यक्तिगत लाभ लिने संस्था बनेको छ ।
7.  कलेजका विकास निर्माणलाई प्रभावित पार्ने र ठेक्का मार्फत कमिशन खाने विद्यार्थी सत्ता बनेको छ ।
8.  स्ववियूको नाममा विद्यार्थीहरुबाट वैद रुपमा रुपया संकलन गरेर खानेसंस्था बनेको छ ।

यसरी आज सम्म आउदा स्ववियुले आफ्ना सकारात्मक भन्दा नकारात्मक काम र गतिविध मार्फत यसको गौरवपूर्ण मूल्य र मान्यतालाई नष्ट गरेको छ । यहाँ  भ्रष्ट र अनैतिक राजनेताहरु उत्पादन गर्ने काम तिर आजको स्ववियु निर्वाचन प्रणालीले बस्तुगत अवस्था प्रदान गर्ने तिर हिजो आज अग्रसर हुदैछ । अनैतिक रुपमा हुने लाभ र नैतिक रुपमा बन्ने पहिचानका कारण संगठन भित्रनै उमेदवारीको लागि मारामार हुने र जीते पछि जे गरेपनि हुने त्यसको जिम्मा संगठनले नलिने कारण मनि र मसलका असली प्रयोग कर्ता पात्रहरु उमेदवार बन्ने र बनाउनु पर्ने हुदै आएको छ । यसले स्ववियु जस्तो इतिहाँसको गौरव बोकेको संस्थालाई विकृतिको अखडा बनाएको छ ।

यसले  स्ववियु प्रतिनै वितृष्णा पैदा गरेको छ । आम विद्यार्थीको रुचि र आकर्षणलाई कम्जोर पादै लगेको छ । आम सर्वसाधारण तथा जेहेन्दार र मेधावि विद्यार्थीहरुको  विचमा यो अलोकप्रिय बनेको छ । संगठित र राजनैतिक स्वार्थ राख्नेहरुको मात्र सहभागी हुने जस्तो, ठुला र महत्वपूर्ण कलेजका स्ववियु निर्वाचनमा धेरै बास्तविक विद्यार्थी मतदानमा नै सहभागी नहुने, गैर विद्यार्थीहरु मतदाता बन्ने र मतदान गर्ने भैरहेको छ । स्ववियु निर्वाचन धेरै नै खर्चिलो हुदै गएको । विद्यार्थी संगठनहरुको विचमा अमैत्रिपूर्ण बातावरण बनेको छ र सहकार्यको संस्कृति सकिंदै गएको छ । विद्यार्थी संगठनहरु विचमा आपसी भडन्तको निहु  स्ववियु निर्वाचन हुने गरेको छ ।

आज हाम्रो अगाडि स्ववियुको गौरवलाई बचाउने कि ध्वंस गर्ने या हुन दिने ? स्ववियुलाई आम विद्यार्थीका हक हितमा प्रतिबद्ध तथा उत्तरदायी बनाउने कि यसलाई खारेज गर्ने ? यसलाई विद्यार्थी संगठनहरु वीचमा आपसी मित्रता र सहकार्य गर्ने साझा बैध संस्था बनाउने कि आपसमा जीवनमरणको लडाईं लडने स्वइच्छाचारी र एकाधिकारी बनाउने ? यसलाई पवित्र बनाउने कि विकृत र पथ भ्रष्ट बनाउने ? भन्ने अहंम प्रश्नहरु खडा भएका छन । आज विद्यार्थी संगठनहरु यि तमाम नकारात्मक पक्षहरुका वारेमा गम्भिर र जिम्मेवार भएर प्रस्तुत नहुने हो भने हामी स्ववियुलाई यो भन्दा अगाडि लिएर जानै नसकिने अवस्थामा पुगिसकेका छौं ।

यसको अर्थ अव स्ववियुको औचित्य सकियो र यसको आवश्यक्ता छैन भन्ने कदापी होइन । यति धेरै समस्या र प्रश्नहरुको बावजुद पनि बिद्यार्थीका हक र अधिकारका लागि आवाज उठाउने साझा र सबैले स्विकार गर्न सक्ने बैधानीक संस्था भनेको नै स्ववियु हो र यसलाई विद्यार्थीको हितमा प्रयोग गर्नु पर्छ । यसमा पैदा भएका समस्याहरुको समाधान खोजनु पर्छ । पहिलो त स्ववियु विकृत बन्नुमा खाली स्ववियुको मात्र दोष छैन संगठनहरु नै प्रमुख रुपमा दोषी छन् । दोश्रो स्ववियुलाई आवश्यक अधिकार सहित त्यस माथि अनुगमन र नियनत्रणको प्रभावकारी प्रबन्ध गर्नु पर्छ । नीति र विधि दुवैमा विकास गर्दै यसलाई सुधार गरेर जान आज जरुरी भैसकेको छ । हाम्रो निर्वाचन प्रणालीका सिमा तथा समस्याहरुले यस पवित्र संस्थालाई विकृति र विसंगति तर्फ अग्रसर हुन वस्तुत आधार प्रदान गरेको छ । हामीले त्यो वस्तुगत आधारलाई बदल्ने बारेमा नसोच्दा सम्म केही राम्रा नियत भएकाहरुले केही राम्रो भूमिका निर्वाह गरे पनि आम रुपमा पुरानै समस्याबाट स्ववियु मुक्त हुन संभव छैन । त्यस कारण यसलाई पुरानै तरिकाले सुधार गर्न अव असम्भव देखिएको छ । पुरानो तरिका प्रत्यक्ष ब्यक्तिलाई मतदान गर्ने प्रत्यक्ष निर्वाचन प्रणालीबाट स्ववियुको निर्बाचन अब संभव छैन । हामीले प्रयोग गर्दै आएको प्रत्यक्ष ब्यक्तिगत निर्वाचन प्रणालीले ब्यक्तिलाई संस्था र मतदाता प्रति उत्तरदायी बनाउन सकेको छैन । निर्वाचित ब्यक्ति र संगठनको एकाधिकारका कारण अन्य विपक्षमा परेको मत र विपक्षलाई निशेध गर्ने गरेको छ । सामुहिक र साझा गतिविधिको अन्त्य गरिदिएको छ । नियमन र अनुगमन सुन्य जस्तै बनेको छ । यस कारण हामीले निति र मुल्यमा आफूलाई रुपान्तरण गर्ने कुरा त छदैछ विधि र प्रक्रियालाई समेत विकास गर्नु पर्ने अवस्था बनेको छ ।

निर्वाचनको विधि र प्रक्रियालाई विकसित गर्ने कुरा गर्दा यसलाई हामीले समानुपातिक, समाबेसी र सहभागितामुलक बनाउने तर्फ जोड गर्नु पर्छ । निर्वाचित हुनेलाई संगठन र विद्यार्थी प्रति उत्तरदायी बनाउन र उस माथि संगठनको नियन्त्रण कायम गर्ने र संगठनले ब्यक्ति खराब भए विकल्प सहित फिर्ता बोलाउने कुरा सुनिश्चित गर्नु पर्छ । यसको लागि ब्यक्तिका लागि मत प्रदान गर्ने विधिबाट संगठनलाई मतदान गर्ने विधिको प्रयोग गर्नु पर्छ । संगठनले आफ्ना प्रस्तावित प्रतिनिधिलाई विकल्प सहित स्ववियुमा चयन गर्नु पर्छ । धेरै विद्यार्थी संगठनहरु विचमा प्रतिसपर्धा हुने अवस्थामा सम्पूर्ण खसेको मतको अल्पमतले नै निर्वाचित  हुने र बहुमत मत स्ववियु भन्दा वाहिर हुने भैरहेको छ र केहि बढी मत पाएको आधारमा निणर्यमा एकलौटी गर्ने या बाहिर रहने ठुलो जनमतको दवावमा कामै गर्न समस्या पर्ने हुदै आएको छ । यसलाई सुधार गरेर संगठनलाई प्राप्तमतको आधारमा आफ्ना प्रतिनिधि स्ववियुमा पठाउने र कम मत पाउने संगठनको पनि प्राप्त मतको आधारमा स्ववियुमा सहभागि हुने बातावरण या विधिको प्रयोग गर्नु पर्छ । यसले संगठहरको एकाधिकार र स्वइच्छाचारितालाई रोकेर साझा संस्थामा बसेर सहकार्य गर्ने संस्कृतिको विकास गर्न सहयोग हुने छ । साथै आज जस्तो विरोधि या विपक्षीलाई निशेध गर्ने बस्तुगत अवस्थाको पनि अन्त हुनजाने छ । त्यसैले समानुपातिक निर्वाचन प्रणाली मार्फत स्ववियु निर्वाचनको आजको गतिरोधको निकास र समस्याहरुको समाधान सहित स्ववियुलाई जनउत्तरदायी र वास्तविक जनमतको नेतृत्व गर्न योग्य बनाउन सबै तयार हनै पर्छ । कस्ले उठाएको यो विषय भनेर अनावश्यक झगडा नगर्ने हो भने संगठनलाई मत माग्ने र मतदान गर्ने निर्वाचन प्रणाली स्विकार गर्न विवाद गर्न जरुरी छैन । यो कसैलाई घाटा या नाफा हुने विषय पनि होइन ।

 समानुपातिक निर्वाचन प्रणालीको कुरा गर्दा हामीले सम्बोधन गर्नुपर्ने अर्को महत्वपुर्ण बिषय हो उत्पीडित समुदाएको प्रतिनिधित्वको सुनिश्चितता । हरेक संगठनले उत्पीडित जाति, जनजाती, क्षेत्र र लैंगिक समुदाएलाई अनिवार्य रुपमा प्रतिनिधित्व स्वतन्त्र बिध्यार्थी युनियनमा गराउने बिधि निश्चित गर्नु पर्छ । यसो गर्दा सम्बिधित क्याम्पसमा आध्यायनरत विभिन्न उत्पीडित समुदायको उपस्थितिको आधारमा स्ववियुमा अनिवार्य प्रतिनिधिको उपस्थिति निश्चित गर्नु पर्छ । संगठनको तर्फबाट उमेद्वारी घोषणा गर्दा नै उत्पीडित समुदायको सहभागिता सुनिश्चित गरिनु पर्छ ।

यस संगै स्ववियुका पदाधिकारीका काम, कर्तव्य र अधिकारको स्पष्ट ब्याख्या सहितको नियमावली बन्न जरुरी छ । समानुपनतिक स्ववियुको निर्वाचन गर्दा देशमा विध्यमान उत्पीडित, सिमान्तकृत, जाति, क्षेत्र, लिङ्ग र समुदायको उपस्थितिको लागि अनुकुल वातावरणकालागि धेरै भन्दा धेरै अवसर प्रदान गर्ने वारेमा प्रतिस्पर्धाहरु हुने ढंगबाट सोचिनु जरुरी छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट मात्र हामी आगामी स्ववियु निर्वाचनमा सहि तरिकाले प्रबेश गर्न सक्ने छौं । त्यस बाट हामी तुलनात्मक रुपमा उन्नत र योग्य र अवको विद्यार्थी आन्दोलन र समग्र राजनैतिक आन्दोलनको असल उत्तराधिकारीहरुको छनोट गर्न सफल हुने बातावरण निर्माण गर्न सक्छौं । साथै हामी स्ववियु प्रतिको निराशालाई आशामा, स्ववियुलाई पथभ्रष्ट र अनैतिक बाट नैतिक र आदर्शमा, स्वइच्छाचारी र एकाधिकारी बाट जनमूखि, जनउत्तरदायी र सहकार्य तथा सहमतिको नेतृत्वकर्ता र साझा बनाउन सफल हुने छौं ।

No comments:

Post a Comment